Rule 29
जेष्ठताक्रम कायम गर्ने
: (१) सशस्त्र प्रहरी कर्मचारीको जेष्ठताक्रम कायम गर्दा निजहरूले सशस्त्र प्रहरी आधारभूत तालीममा प्राप्त गरेको अङ्कको आधारमा जेष्ठताक्रम कायम हुने गरी स्थायी परिचय (आई.डि)नम्बर दिइनेछ ।
तर प्रशिक्षार्थी सशस्त्र प्रहरी कर्मचारीको हकमा नियुक्तिको लागि सिफारिस भएको योग्यताक्रमको आधारमा प्रशिक्षार्थी नम्बर कायम गरिनेछ ।
(२) उपनियम (१) बमोजिम आधारभूत तालीममा समावेश भई कुनै कारणवश तालीम सम्पन्न नगरेका उम्मेदवारको हकमा निजले नियुक्ति पाएको समूहको सबैभन्दा अन्तिम क्रममा जेष्ठताक्रम कायम हुनेछ ।
(३) बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीको हकमा सम्बन्धित बढुवाको सिफारिसको क्रम अनुसार जेष्ठताक्रम कायम हुनेछ ।
(४) खुल्ला प्रतियोगिताद्वारा छनौट भई नियुक्ति पाई विशेष कारणले सशस्त्र प्रहरी आधारभूत तालीममा सहभागी नभएको सशस्त्र प्रहरी कर्मचारी अर्को पटकको तालीममा सहभागी भई तालीममा सफल भएमा निजको जेष्ठताक्रम निजसँग छनौट भई सशस्त्र प्रहरी आधारभूत तालीम लिई सकेका अन्य सशस्त्र प्रहरी कर्मचारी भन्दा पछाडि क्रमशः कायम गरिनेछ ।
(५) सशस्त्र प्रहरी सेवामा पुनर्बहाली भएका तथा तल्लो पदमा घटुवा भएकोमा सुरु निर्णय बदर भई आएका सशस्त्र प्रहरी कर्मचारीहरुको हकमा पुनर्बहाली भएको वा सुरु निर्णय बदर भएको मितिदेखि जेष्ठता कायम गरिनेछ ।
(६) तल्लो पदमा घटुवा भएको सशस्त्र प्रहरी कर्मचारीको हकमा घटुवा भएको मितिदेखि सो पदको जेष्ठता कायम गरिनेछ ।